दफा १५
पट्टा दिने र कबुलियत गराउने

(१) तर ऐनबमोजिम नेपाल सरकारका तर्फबाट कसैलाई कुनै ठेक्का दिन स्वीकृत भैसकेपछि ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले सात दिनभित्र सो कुराको सूचना सो ठेक्का दिन स्वीकृत भएको व्यक्तिको नाममा जारी गर्नु पर्छ । तर ठेक्का दिने कुरा स्वीकृत गर्ने र ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारी एउटा नभई पृथक पृथक भएमा ठेक्का लिने कुरा स्वीकृत भएको जनाउ ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले पाए पछि मात्र सूचना जारी गर्ने सात दिनको म्याद शुरु हुनेछ ।

(२) उपदफा (१) बमोजिम सूचना जारी गर्दा बाटाका म्याद बाहेक सात दिनको म्याद दिई सो म्यादभित्र आफ्नो कबूल बमोजिम कबूलियत गर्न नआएमा वा अर्को टेण्डर वा डाँकवालालाई ठेक्का दिइने कुरा स्पष्ट खोली सूचना तामेल गर्नु गराउनुपर्छ ।

(३) उपदफा (१) र (२) बमोजिम जारी भएको सूचनाको म्यादमा सो व्यक्ति हाजिर भई कबुलियत गर्न मञ्जूर गरे ठेक्का बन्दोवस्त गर्ने अड्डा कार्यालय वा अधिकारीले निजबाट तुरुन्त कबुलियत गराई निजलाई पट्टा वा चलन पूर्जी दिनुपर्छ । त्यस्तो व्यक्ति हाजिर नभएमा वा आफ्नो कबूल बमोजिम कबूलियत गर्न मञ्जूर नगरेमा निज पछिको दोस्रो, तेस्रो इत्यादि क्रम अनुसार अरु टेण्डर वा डाँकवालालाई प्राथमिकता दिई उपदफा (२) बमोजिमको सूचना जारी गरी ठेक्का बन्दोबस्त गर्न सक्नेछ ।

(४) टेण्डर वा डांक स्वीकृत गर्ने र ठेक्का बन्दोवस्त गर्ने अड्डा कार्यालय वा अधिकारी एउटै नभई पृथक पृथक भएमा ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारीले टेण्डर खोलिएको वा डाँक बोलाइएको तीन दिनभित्र टेण्डर वा डाँक स्वीकृत गर्ने वा नगर्ने निकासाका लागि सो स्वीकृत गर्ने अड्डा, कार्यालय वा अधिकारीले जाहेर गर्नुपर्छ र त्यस्तो जाहेरी दाखिल भएको तीस दिनभित्र सो अड्डा, कार्यालय वा अधिकारीले पनि टेण्डर वा डाँक स्वीकृत भए वा नभएको निकासा दिइसक्नुपर्छ । सो म्यादभित्र जाहेर नगरेको वा निकासा नदिएको कारणले नेपाल सरकारलाई कुनै हानी नोक्सानी भएमा जसको ढिलाई वा लापरवाहीले गर्दा म्यादभित्र जाहेर वा निकासा हुन नसकेको हो सो कर्मचारीबाट सो हानी नोक्सानी असुल उपर गरी लिइनेछ ।